काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेल मुम्बई फर्किएकी छिन्। अमेरिकाबाट मुम्बईको यात्राको क्रममा ओमानमा फसेकी उनी अन्तत: घर फर्केकी हुन् । खासमा उनी न्यूयोर्कबाट मुम्बई यात्रा गरिरहेकी थिइन्, तर खाडी क्षेत्रमा भएको आक्रमणका कारण युएईको हवाई क्षेत्र अचानक बन्द भयो । जसकारण उनको उडानलाई बीच बाटोबाट ओमानको मस्कट डाइभर्ट गर्नुपर्यो । जसले गर्दा यात्रुहरूमाझ ठूलो अनिश्चितता सिर्जना भएको थियो । उनीसँगै डीजे चेतस र निर्माता कुणाल गुमर पनि यात्रा गरिरहेका थिए ।
अमिषाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्नो तनावपूर्ण अनुभव साझा गरेकी थिइन् । ‘हामी दुबईमा अवतरण गर्न लागेका थियौं जब मिसाइल आक्रमणका कारण हवाई क्षेत्र बन्द भयो। हामीलाई मस्कट पठाइएको छ र अब हामी अर्को अपडेटको लागि पर्खिरहेका छौं । यो युद्ध कहिले समाप्त हुन्छ? म प्रार्थना गरिरहेकी छु,’ उनले लेखेकी थिइन् ।
मुम्बई आइपुगेपछि अमिषाले राहतको सास फेरिन् र आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिँदै लेखिन्, ‘अन्ततः, मुम्बई ! तपाईंहरूको सबै प्रार्थनाको लागि धन्यवाद ।’