काभ्रे । तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँको सम्झनामा स्थापित सरला–कुमार अक्षय कोष ले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरेको छ । कोषका अध्यक्ष यन प्रसाद अधिकारी (राजु) ले काभ्रेको छेडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८३ का लागि ईसीडीदेखि कक्षा ६ सम्मका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरेकाे हो ।

उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईँ तथा शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ गौतम (ठाकुर) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य तथा नेकपा केन्द्रीय सदस्य घनश्याम गौतमलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त अक्षय कोष सरला अधिकारी र कुमार चौलागाईँको स्मृतिमा स्थापना गरिएको हो । दुवै जना सोही विद्यालयका विद्यार्थी रहेका थिए । विसं २०५४ सालमा तत्कालीन द्वन्द्वका क्रममा उनीहरूले ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा परिवारका सदस्यहरू यन प्रसाद अधिकारी, ढोग प्रसाद अधिकारी र नवराज चौलागाईँको पहल तथा विद्यालयको सहयोगमा विद्यालय परिसरमै उनीहरूको सालिक समेत निर्माण गरिएको छ। कोषले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
