काठमाडौँ । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका र जुगल गाउँपालिका पर्यटन विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५,५७० मिटर उचाइको उक्त नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न भएको जनाएको हो ।
लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्य राखिएको जुगल गाउँपालिकाले जनाएको छ । जुगल एभरेष्ट भ्यु पोइन्टबाट सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालहरू चोयु, मकालु, ल्होत्से र शिशपाङ्माको प्रत्यक्ष अवलोकन गर्न सकिने नयाँ सम्भावना उजागर गरेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि जुगललाई प्रमुख गन्तव्य बनाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । उक्त गन्तव्य पहिचानका लागि चार सदस्यीय टोली यही वैशाख ३ गते त्यहाँ पुगेको थियो ।