काठमाडौँ । बैशाख १५ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजनामा ३०औँ राष्ट्रिय चिया दिवस मनाउने भएको छ । यस वर्षको चिया दिवसको औपचारिक कार्यक्रम सूर्योदय नगरपालिका, फिक्कल, इलाममा सञ्चालन हुने भएको हो । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा विभिन्न ७ वटा विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीहरूलाई सम्मान गरिनेछ भने टि च्याम्पियन प्रतियोगिताका विभिन्न ५ वटा विधाका उत्कृष्ट चिया उत्पादकलाई पुरस्कृत गरिनेछ ।
गत वर्ष साढे ४ अर्बको निर्यात गर्दा ९ करोडको मात्र आयात
गत आर्थिक वर्ष २०८१/८२ मा साढे ४ अर्बको चिया निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गत आर्थिक वर्षमा पछिल्लो ७ वर्ष यताकै धेरै चिया निर्यात भएको हो । बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेले गत आवमा १ करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले ४ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । यसअघिका वर्षहरु आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख केजी चिया निर्यात भ्इको थियो ।
त्यसयताका वर्षहरुमा आव २०७६/७७ मा २ अर्ब ७८ करोड रकम बराबरको १ करोड ११ लाख केजी, आव २०७७/७८ मा ३ अर्ब ७९ करोड रुपैया बराबरको १ करोड १९ लाख केजी, आव २०७८/७९ मा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको १ करोड २४ लाख केजी, आव २०७९/८० मा ३ अर्ब ९३ करोडरुपैयाँ बराबरको १ करोड ६५ लाख केजी र आव २०८०/८१ मा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ३९ लाख केजी चिया निर्यात भएको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०८१र८२ मा ९ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार केजी चिया नेपालमा अयात भएको छ । बोर्डको तथ्यांकअनुसार आयात घट्दै गएको छ । पछिल्लो ७ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/७८ मा १५ करोड १३ लाख रुपैयाँ बराबरको ३ लाख ४६ हजार केजी चिया आयात भएको थियो ।
१६३ वर्ष पुरानो चिया खेतीको इतिहास, ६० हजार रोजगारी
नेपालमा चिया खेतीको इतिहास १६३ वर्ष पुरानो रहेको छ । विस १९२० मा इलामका तत्कालिन बडाहाकिम कर्णेल गजराज सिंह थापाले इलाममा चिया कमान स्थापना गरेपछि नेपालमा चिया खेती सुरु भएको मानिन्छ । बोर्डको आव २०८१र८२ को तथ्यांक अनुसार नेपालमा कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया रोपण गरिएको छ । गत आर्थिक वर्षमा कुल २ करोड ६१ लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार १३२ जना चिया कृषकहरू रहेका छन्, भने १७० वटा टि स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार रोजगारी सिर्जना गरेको अनुमान गरिन्छ ।
विभिन्न चुनौतीहरूका बावजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगीरव्यवसायी, सरोकारवाला संघसंस्थाहरू एवं विशेष गरी निजी क्षेत्रको अथक प्रयासका कारण नै नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति एवं पहिचान देखाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक पाण्डेले बताए ।
पछिल्ला दिनहरूमा बजारीकरणको पाटोमा नेपाली चिया क्षेत्रले केही चुनौतीहरूको सामना गर्नु परिरहेको उनले बताए । उनले भने, ‘नेपालले गरेको चियाको कुल निर्यातमध्ये ८६ प्रतिशत निकासी भारतमा नै भएको हुँदा भारतिय बजार नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको कुरामा दुई मत छैन । तसर्थ, बजार विविधिकरणमा आवश्यक पहलकदमी अझ सघन रुपमा गर्न आवश्यक छ । त्यसैगरी नेपालमा खाद्य प्रविधि प्रयोगशालाको सबलिकरण गरी निर्यात प्रवद्र्धनमा सहयोग गर्न जरुरी छ ।’