काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाइएको छ । ३ महिनाका लागि निलम्बनमा रहेको एन्फाको आर्थिक अनियमितताबारे छानबिन भइरहेका बेला यस्तो निर्णय गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फासम्बन्धी आर्थिक विषयमा अनुसन्धान गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा ३ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।
उक्त समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्रका आधारमा खेलकुद मन्त्रालयमार्फत गठन गरिएको जनाइएको छ ।
छानबिनलाई प्रभावकारी बनाउन राखेपले एन्फा पदाधिकारीहरूको विदेश भ्रमण रोक्न खेलकुद मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यसपछि खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्राचार गरेपछि सम्बन्धित पदाधिकारीहरूको राहदानी रोक्का गरिएको हो । राखेपका सदस्यसचिव राम चरित्र मेहताले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै एन्फासम्बन्धी विषयमा निष्पक्ष छानबिन भइरहेको बताए । उनले खेलकुद क्षेत्रमा देखिँदै आएका विवाद र राजनीतिक हस्तक्षेप अन्त्य गर्ने अभियान जारी रहेको पनि उल्लेख गरे ।
यसअघि राखेपको निर्देशन अवज्ञा गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेपछि गत ११ चैतमा एन्फालाई ३ महिनाका लागि निलम्बन गरिएको थियो । यद्यपि निलम्बनकै अवस्थामा अध्यक्ष नेम्वाङसहित केही पदाधिकारी विश्व फुटबल महासंघ (फिफा) को कंग्रेसमा सहभागी हुन क्यानडा जाने तयारीमा रहेको खबर सार्वजनिक भएपछि थप कडाइ गरिएको हो । हाल एन्फाको गतिविधि निगरानीमा राख्दै छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।