काठमाडाैँ । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । पोखरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।
ओखलढुंगाकाे खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे ।
सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने उनले स्वीकार गरेका छन् । 'मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान र भावनामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्दछु,' उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रधानाध्यापक मगरलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।
उनले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्य मात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियाे भाइरल बनाइएको दाबी गरेका छन् । आफू जनताको सेवा गर्न राजनीतिमा आएको उनकाे भनाइ छ ।
‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले भनेका छन्, ‘कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’