काठमाडौँ । वैदेशिक रोजगार विभागले पश्चिम एसियामा उत्पन्न परिस्थितिका कारण रोकिएका साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र इजरायल लगायतका १२ देशका लागि श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै ती देशहरूका लागि सबै प्रकारका (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) श्रम स्वीकृति पहिलेकै अवस्थामा रहने गरी खुला गरिएको जनाएको हो ।
पश्चिम एसियाली क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको भन्दै सरकारले गत २०८२ फागुन १७ गते मन्त्रीस्तरीय निर्णयमार्फत ती देशहरूमा अस्थायी रूपमा श्रम स्वीकृति स्थगित गरेको थियो । दुई महिनापछि परिस्थितिमा सुधार आएको भन्दै विभागले साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलका लागि रोकिएको प्रक्रिया पुनः सुरु गरेको हो ।
विभागका अनुसार इराकको हकमा भने नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय बमोजिम नै हुने गरी र अन्य देशहरूको हकमा साविककै अवस्थामा श्रम स्वीकृति दिइनेछ ।
वैदेशिक रोजगार विभागको यो निर्णयसँगै भिसा आएर पनि श्रम स्वीकृति नपाउँदा रोकिएका हजारौँ नेपाली श्रमिकहरूलाई राहत पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैशाख ७ (आज) को निर्णय अनुसार नै विभागले यो सूचना सार्वजनिक गरेको हो ।
यसअघि वैदेशिक रोजगार व्यवसायीहरूले सुरक्षा चुनौती नभएका क्षेत्रमा पनि श्रम स्वीकृति रोकिँदा श्रमिक र म्यानपावर कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै विरोध जनाउँदै आएका थिए ।