काठमाडौँ । रैथाने खाना प्रवद्र्धनमा संचारकर्मीहरुको भूमिका प्रभावकारी रहदै आएको बारे चर्चा गरिएको छ । रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित ककनीमा आयोजित ‘रैथाने खाना प्रवद्र्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम’ का वक्ताहरुले उक्त धारणा राखेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनालाई जोड दिँदै भने, ‘नेपालको पर्यटन प्रवद्र्धनमा स्थानीय खानाको महत्वपूर्ण भूमिका छ । यदि सही ढंगले ब्रान्डिङ गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ । घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक ज्ञान र सीप सेफहरू मार्फत विस्तार गर्न सकिन्छ, जसले यसको दीगो प्रवद्र्धनमा सहयोग पुर्याउँछ ।’
साथै उनले कार्यक्रमले स्थानीय खाद्य परम्पराको संरक्षण, स्वास्थ्यकर भोजनको प्रवद्र्धन तथा पर्यटनसँग यसको अन्तरसम्बन्धलाई प्रभावकारी रूपमा उजागर गरेको उल्लेख समेत गरे । विशिष्ट अतिथि गैर आवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले स्वास्थ्य र प्राकृतिक भोजनबीचको सम्बन्धबारे प्रकाश पार्दै भने, ‘प्राकृतिक र रैथाने खाना हाम्रो स्वास्थ्यका लागि अत्यन्त लाभदायक छन्। आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ ।’ उनले रैथाने खानाको संरक्षण र प्रवद्र्धनका लागि सामूहिक पहल अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा आयोजक संस्थाका तर्फबाट बोल्दै ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता औंल्याउँदै भने, ‘हाम्रो मौलिक खाना केवल परिकार मात्र होइन, यो हाम्रो संस्कृति र पहिचान हो । यसको संरक्षण र प्रवद्र्धन आजको आवश्यकता हो ।’ उनले सञ्चारमाध्यमले यस अभियानलाई व्यापक बनाउन महत्वपूर्ण भूमिका खल्ने विश्वास व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, बरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, युवा उद्यमी तारालाल धरेल, रैथाने अभियन्ता तिलक ढकाल, न्युजलाईन्स मिडियाकी सरिता ढकाल लगायतले यस अभियानलाई निरन्तरता दिँदै रैथाने खानाको प्रवद्र्धनमा सक्रिय रूपमा लागि पर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ प्रदान गरिएको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।
न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारहरूको आकर्षक प्रदर्शनी समेत गरे । कार्यक्रममा सहभागीहरूलाई प्राकृतिक भोजनको स्वाद चखाइएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।