कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कृषि विकास बैंक लिमिटेड (एडीबीएल) बीच कोरियाबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापना र उद्यमशीलता प्रवर्द्धनका लागि वित्तीय पहुँच विस्तार गर्ने कार्यक्रम सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साक्षीमा सुरु गरिएको यस पहलअन्तर्गत कोइकाले २५ लाख अमेरिकी डलर (करिब ३३ करोड रुपैयाँ) ब्याज सहुलियतका लागि उपलब्ध गराउनेछ । एडीबीएलले भने करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको कर्जा पूँजी परिचालन गर्नेछ । परियोजनाबाट करिब २०० देखि २५० जना लाभान्वित हुने अपेक्षा गरिएको छ।
औसत कर्जा रकम ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ । कार्यक्रममा “के-हामी” परियोजनाअन्तर्गत उद्यमशीलता तालिम पूरा गरेका कोरिया फर्किएका श्रमिकहरू सहभागी हुन सक्नेछन् ।
कार्यक्रमको उद्देश्य विदेशमा आर्जित सीप र अनुभवलाई स्वदेशमै लगानीमा रूपान्तरण गर्दै उद्यम विकास र रोजगारी सिर्जना गर्नु रहेको छ। वित्तीय पहुँचको अभाव हटाउँदै फर्किएका श्रमिकलाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरिनेछ।
कोइकाका नेपाल प्रमुख मूहन कोङले तालिमप्राप्त र पुनःस्थापनामा प्रतिबद्ध श्रमिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए। श्रम मन्त्रालयका सहसचिव कृष्ण सापकोटाले यस्तो कार्यक्रमले पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
एडीबीएलका नायब महाप्रबन्धक सुदीप दाहालले बैंक उद्यम विकास र युवा रोजगारी सिर्जनामा सक्रिय रहने जनाए।
यस सहकार्यले श्रम आप्रवासनलाई दीर्घकालीन आर्थिक अवसरमा रूपान्तरण गर्दै फर्किएका श्रमिकलाई उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।