काठमाडौँ । रघुजी फिल्म्सले २ वटा नेपाली फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माणको घोषणा गरेको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको समूहले यी फिल्म बनाउन लागेका हुन् । दुवै फिल्म सन् २०८३ मा दर्शकमाझ ल्याइने निर्माण पक्षले जनाएको छ ।
निर्माण पक्षले १ माघमा टिजर सार्वजनिक गर्ने भने पछि प्राविधिक कारणले सार्वजनिक हुन नसकेको जनाएको छ । उसले शुक्रबार फिल्मका २ वटा पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेको हो ।
२ वटा फिल्ममध्ये ‘कालकट्टी’ को छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुनेछ । त्यसका लागि कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ ।
फिल्म ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन् । फिल्ममा निसाल पौडेलको छायांकन, भीम विष्टको संगीत हुनेछ । फिल्मको वितरण आरआर फिल्मस् र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएका छन् ।