काठमाडौँ । युक्रेनमा रूसको लगभग चार वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यले कीभले नयाँ २० बुँदे शान्ति योजना अगाडि बढाइरहेछ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फ्लोरिडामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने तय भएको छ ।
ट्रम्पले फ्लोरिडाको पाम बीचमा जेलेन्स्कीलाई भेट्ने शुक्रबार ह्वाइट हाउसले जानकारी दिएको थियो । बैठकअघि ट्रम्पले युक्रेन र रूस बीचको कुनै पनि सम्भावित सम्झौताको अन्तिम मध्यस्थकर्ताको रूपमा आफूलाई प्रस्तुत गरेका थिए ।
ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने उद्देश्यले हुने कुनै पनि शान्ति सम्झौताको लागि उनको स्वीकृति आवश्यक पर्ने बताएका थिए । जेलेन्स्कीले वार्तामा संशोधित शान्ति ढाँचा ल्याउने बताएका छन्, जसमा निशस्त्रीकृत क्षेत्रको प्रस्ताव र अमेरिकी सुरक्षा ग्यारेन्टीहरूमा छलफल हुने छ ।
युक्रेन संकट अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न फ्लोरिडा उड्नुअघि जेलेन्स्की शनिबार क्यानाडामा थिए ।
उनले पत्रकारहरूसँग कुरा गर्दै ‘सकेसम्म धेरै कुरालाई अन्तिम रूप दिने’ दुई पक्षीय प्रयास रहने बताएका थिए । बैठकमा ठोस सम्झौतामा पुग्न सकिन्छ वा कि सकिँदैन भनेर भविष्यवाणी गर्न नसक्ने उनको भनाइ थियो । यद्यपि जेलेन्स्कीले ‘नयाँ वर्षअघि धेरै कुरा निर्णय गर्न सकिने’ एक्स पोस्ट गरेका थिए ।
ट्रम्पले भने जेलेन्स्कीसँगको वार्ता फलदायी हुने अपेक्षा गरेका थिए । उनले मस्कोसँगको सम्बन्धका लागि पनि आफू खुला रहने बताएका थिए ।
शान्तिसम्झौतापछि जेलेन्स्कीसँग मात्र होइन मस्को र भ्लादिमिर पुटिनसँग आफ्नो सम्बन्ध राम्रो हुने ट्रम्पले अपेक्षा राखेका थिए । ट्रम्पले रूसी राष्ट्रपतिसँग ‘जतिसक्दो चाँडै’ कुरा गर्ने अपेक्षा गरेको बताएका थिए ।
यसैबीच, जेलेन्स्कीले फ्लोरिडा बैठक अघि कूटनीतिक सम्पर्कलाई तीव्र बनाएका थिए । उनले नेटो, क्यानडा, जर्मनी, फिनल्याण्ड, डेनमार्क र इस्टोनियाका नेताहरूसँग स्थिति समन्वय गर्न कुरा गरेको बताए ।
युक्रेनी र अमेरिकी अधिकारीहरूले विकास गरेको २० बुँदे योजना ९० प्रतिशत तयार रहेको जेलेन्स्कीले पत्रकारहरूलाई जानकारी दिए ।
जेलेन्स्कीले आइतबारको वार्ता जापोरिजिया आणविक ऊर्जा केन्द्रको व्यवस्थापन र युक्रेनको पूर्वी डोनबास क्षेत्रको नियन्त्रण जस्ता संवेदनशील मुद्दाहरूमा पनि केन्द्रित हुने बताए । यो क्षेत्र मस्कोले दाबी गर्दै आएको छ ।