भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना २०८१ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा, आइसेट नेपाल र डिसिए नेपालको सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्देश्य विपद् व्यवस्थापनका सम्पूर्ण चरणमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणको सिद्धान्तलाई मुख्यधारमा ल्याउँदै, संकटासन्न समुदायको पहुँच, सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्नु रहेको थियो । साथै, चाँगुनारायण नगरपालिकाको आफ्नै रणनीतिक कार्ययोजना तर्जुमा गर्ने तयारी पनि यस अभिमुखिकरणको प्रमुख लक्ष्य रहेको छ । नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाले विगतमा विपद् व्यवस्थापनको क्षेत्रमा गरेको उल्लेखनीय कार्यप्रति प्रतिबद्धता दोहोर्याउँदै आगामी रणनीतिमा समावेशीता र सहभागितामूलक दृष्टिकोणलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो। उहाँले हालैको मनसुनका कारण नगरक्षेत्रका पूर्वाधारमा भएको क्षतिको विवरण संकलन गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको बताए ।
नगर प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले चाँगुनारायण भौगोलिक रुपमा पहिरोको उच्च जोखिममा रहेको क्षेत्र भएकाले समन्वित प्रयासमार्फत जोखिम न्यूनीकरणका गतिविधिहरू निरन्तर सञ्चालन भइरहेको बताए । वडा नं २ का अध्यक्ष तथा नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रसाद प्रधानले नीति, योजना तथा बजेटमा प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमा देवी चेमजोङले रणनीतिक कार्ययोजनाबारे विस्तृत प्रस्तुतिकरण गरेका थियो ।
नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा सदस्यहरू, शाखा–उपशाखा प्रमुख कर्मचारी, स्वयंसेवक लगायत जम्मा ३५ जनाको सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा आइसेट नेपालका कार्यक्रम संयोजक अशोक महर्जन तथा फिल्ड अधिकृत भरत ढुंगाना, साथै चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन उपशाखा प्रमुख दिनेश थापाले सहजीकरणमा योगदान दिएका थियो ।