लुम्बीनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । बुद्ध जयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर ८ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । उनले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उनको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे ।
‘बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । हरेक ठाउँमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरू शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, असल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरूमा भिन्नता छैन । बुद्धका ज्ञानहरू विस्तारका क्रममा त्रिपिटक (विनयपिटक, सूत्रपिटक र धम्मपिटक)मा बाँडियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरू अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरू गर्दै जानुपर्नेछ ।’
प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्ध जयन्तीका अवसरमा शुभकामना दिएका थिए । बुद्ध जयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौं फर्किएका हुन् ।