काठमाडौँ । नेकपा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालले राजावादी आन्दोलनमा पत्रकारको मृत्यु भएको घटनामा सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न माग गरेको छ । संगठनका महासचिव हिरामान लामाले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो मा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ – कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गुमेको र सञ्चारकर्मी, सञ्चारमाध्यममाथि भएको आक्रमणको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ । काठमाडौंको तीनकुनेमा आज प्रदर्शनकारीले हिंसात्मक ढंगले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाँकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ । यसैगरी, प्रदर्शनकारीले अन्नपूर्ण पोष्ट दैनिकमा आगजनीको प्रयास गर्नुका साथै कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार र हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन । शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भएपनि आन्दोलनको बहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको शिकार सञ्चारकर्मी र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय हो । आज काठमाडौंमा सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो अराजक घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । यस्ता घटनामा संलग्न दोषीहरुमाथि कडा कारबाही गर्न पनि बैठकले सरकारसँग जोडदार माग गरेको छ ।’
