नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघको केन्द्रीय सदस्य हुन् लक्ष्मी बाराकोटी (प्रसाई) । हाईस्कुल जीवनदेखि नै नेविसंघमार्फत् राजनीतिक जीवनमा होमिएकी उनीसँग झापा, गौरादहका विभिन्न सामाजिक संस्थाहरुमा रहेर काम गरेको अनुभव समेत छ । सत्यआवाजका लागि लक्ष्मी बाराकोटी (प्रसाई) सँग बरिष्ठ संवाददाता श्यामकृष्ण लम्सालले गरेको कुराकानीको सम्पादित अंशः–

मुलुकको वर्तमान राजनीतिक स्थितिप्रति तपाईंको दृष्टिकोण के छ ?
नेपालको वर्तमान राजनीतिमा आत्मकेन्द्रीत राजनीति विकास भएको यस अवस्थामा नेपालका सम्पूर्ण पार्टीहरुलाई देश विकासको क्रियाकलापमा सकृय बनाइ पुराना पार्टीहरुले आफ्नो पार्टीको सान जोगाइराख्न जनताको हितमा आफूलाई समर्पित गर्नुपर्छ । अहिले भएभन्दा अझ प्रभावकारी ढङ्गले जनतामा समर्पित हुने किसिमको कार्य गरी लोकतान्त्रिक शासन व्यवस्था नै दुनियाँको उत्कृष्ट शासन व्यवस्था हो भन्ने कुरालाई जनस्तरमै व्यवहारिक अनुभूति हुने किसिमको राज्य सञ्चालन हुनु पर्दछ भन्ने मेरो ठम्याइ एवं बुझाइ हो । संक्षेपमा भन्नुपर्दा जननायक विपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई शिरमा राखीकाम गर्दा मुलुकका मौजुदा सबै समस्याहरु स्वतः समाधान हुँदै जान्छन् भन्ने मेरो बुझाइ रहेको छ ।
राजनीतिक एवं सामाजिक क्षेत्रमा महिला सहभागीता सशक्तिकरणका लागि राज्य निर्वाह गर्नुपर्ने भूमिका के–के हुन् सक्छन् ?
महिलाविरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी महिलाहरुको हक तथा अधिकारको सुरक्षा प्रवद्र्धनका लागि राज्यले अधिकारमा आधारित विकास अवधारणाको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरु संचालन गरी विभेदकारी कानुनहरु हटाइ हरेक क्षेत्रमा महिलाहरुलाई सहभागी गराइ महिलाहरुमा भएको अन्तर्निहित क्षमतालाई वद्धि गर्नु नै महिला सशक्तिकरण हो । संविधानले जनताकाहक र अधिकारहरु सुनिश्चित गर्नुका साथै महिला वर्गका अधिकारहरुलाई समेत व्यवस्थितरुपले लिपीबद्ध गरिनुपर्छ । कार्यान्वयन पक्षमा ध्यानन पुर्याउने हो भने कतिपय स्थापित महिलाका अधिकारहरु संविधानमै सीमित हुने सम्भावना पनि देखिएका छन् । तसर्थ महिलावर्गले विशेषगरी राजनीतिक नेतृत्वमा रहेका महिलावर्गले बढी चनाखो हुनु पर्दछ ।
समृद्ध गौरादह निर्माणका लागि के–के काम हुनु आवश्यक छ ?
नगरबासीका जनतालाई साथमा लिएर गौरादह नगरको सन्तुलित विकास, सार्वजनिकहित, नागरिकको सुरक्षाका निम्ति समर्पित हुनु पर्दछ । जनप्रतिनिधिहरु जस्तै गौरादह नगरबासी सहरी र ग्रामीण नागरिकको सेवा, सुविधा अभिवृद्धि गर्ने, नगरको शिक्षा, स्वास्थ्य, रोजगार, सडक, विद्युत, खानेपानी, ढल, बाँध, कुलो, पैनी, अन्य सिंचाइ, कृषि, उद्योग, पर्यटन, पशुपालन साथै किसानको हक, हित, मजदुरको हक, हित र सुरक्षा, शोषणको अन्त्यगर्दै सबै नगरबासीको सेवा, सुविधा, सम्मान र सुरक्षाकालागि नेपाल सरकारसँग समन्वय गरी सम्बन्धित सरोकारवाला निकायमा प्रतिनिधित्व गर्दै आवाज उठाई आवश्यकता पूराकालागि शान्तिपूर्ण माध्यमबाट पहलगर्ने प्रणका साथ नगरबासी जनताको समर्थन प्राप्त गर्दै स्थानीय सरकार जनमैत्री, नागरिकमैत्री र समस्यामैत्री हुनु आवश्यक छ ।
झापा–५ मा नेपाली कांग्रेसको सांगठनिक स्थिति कस्तो छ ?
लोकतान्त्रिक पद्धति सुदृढ गराउन नेपाली कांग्रेसको जिम्मेवारीको अवस्था राम्रैसँग संगठन चलेको छ । यस्तो अवस्थामापनि केन्द्रको राजनैतिक कारणले पनि नेपाली जनतालाई राजनीतिप्रति वितृष्णा रहेका बेला पनि हामीले कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकामा पनि अध्यक्ष जितेका छौँ । दमकमा उप–प्रमुख जितेका छौँ । गौरादहमा गठबन्धनका कारण चिन्ह फरक हुँदा धेरै म तबदर भएका कारणले मात्र प्रमुख गुमाएका हौँ । नेपाली कांग्रेसका यस क्षेत्रका नेता, कार्यकर्ताहरु सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्नुभएको छ । नेपाली कांग्रेस गौरादहनगरले धेरै राम्रो तरिकाले पार्टीलाई चलायमान् गर्न सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई जिम्मेवारी दिएको छ र आफ्नो जिम्मेवारी सबैले पूरा गर्नुभएको छ ।
अझ सुधार कसरी गर्न सकिन्छ ?
कांग्रेसीजन सबै सम्हालिनु पर्छ । आन्तरिक अवस्थालाई सुधार गरेर लैजानुपर्छ । सर्वप्रथम त घरलाई बलियो बनाउनुपर्छ । पार्टीलाई रुपान्तरण अभियानमार्फत् यस क्षेत्रका सम्पूर्ण नेताहरुले गुट, उपगुट अन्त्य गरी सबैजना एक हुनुपर्छ र नेताहरुले आफ्नाकार्यकर्ताहरुको घर–घरकमगएर विचलित भएका साथीहरुलाई सम्झाउनुपर्छ र पार्टी चलायमान् बनाउनलाई नेपाली कांग्रेसमा भएका भातृसंघहरुलाई पूर्णता दिनुपर्छ ।
स्थानीय सरकारको कार्यशैली र प्रभावकारीताको सम्बन्धमा नेपाली कांग्रेसको दृष्टिकोण के छ र स्थानीय सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?
दिगो विकास अथवा टिकाऊ विकासमा आधारित भएर शिक्षा, स्वास्थ्य, सडक तथाबजार, कृषि विकासकालागि विज्ञहरुको परामर्श र सर्वपक्षीय छलफलबाट सबैले अपनत्व हुनेगरी दीर्घकालीन गुरुयोजना निर्माण गर्नुपर्छ । महिलाहरुको सीप, क्षमता विकास, विपन्न महिला विकासका लागि कार्यक्रम, महिला तथा बालबालिकाको हिंसामुक्त, महिलाहक, अधिकार र महिलाहरुको आर्थिक सबलीकरणका लागि समान ज्याला अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्छ । नेपाली कांग्रेसको सिद्धान्तलाई अँङ्गाल्दै विपीले देख्नुभएको छ– ‘नेपालमा कोही पनि भोका, नांगा, अशिक्षित नरहून् । देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराहरुको अभाव नहोस् ।’ त्यस्तै उत्तरदायी शासन व्यवस्था प्रयत्न गर्न, पुँजी संग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् । तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरण नै हो । समुन्नत नेपाल विपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्या हो ।
अन्त्यमा...
संविधानको रक्षा, स्थिरता र शान्ति होस् । मुलुकको विकास र समृद्धि होस् । नेपाली राष्ट्रिय गरिमा उच्च हुने काम नेताहरुले गरुन् । संविधानमा भएका महिलाका सम्पूर्ण अधिकार कार्यान्वयन होस् । केन्द्रदेखि नै नेता, कार्यकर्ताको कार्यशैली बद्लियोस् । संसारमा एउटै मानिस सुधारिए पुग्छ, ऊ स्वयं आफैँ हो भन्न चाहन्छु ।