काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा फाइनल यात्रा तय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविन मलानले अविजित ७१ रन बनाए । जवाफमा १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा थरिन्दुले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । बलिङतर्फ पनि २ विकेट लिएका थरिन्दुले अन्तिम ओभरमा विजयी चौका प्रहार गर्दै टोलीलाई फाइनल पुर्याए ।
सुदूरपश्चिमको सुरुवात भने राम्रो हुन सकेन । ओपनर विनोद भण्डारीले १३ बलमा २३ रन बनाए पनि जर्ज मन्से ८ रनमा आउट भए । त्यसपछि स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५ रनमा ४ विकेट गुमाएको कठिन अवस्थामा पुगेको थियो ।
त्यसपछि थरिन्दुले कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग महत्त्वपूर्ण साझेदारी गरे । उनले पाँचौँ विकेटका लागि दीपेन्द्रसँग ३१ रन तथा छैटौँ विकेटका लागि आरिफसँग २६ रनको साझेदारी गरे । दीपेन्द्रले १५ र आरिफले १० रन बनाए ।
एकपछि अर्को विकेट गुमिरहेको अवस्थामा थरिन्दुले धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए ।
चितवनका लागि रन्जित कुमारले २ विकेट लिँदा कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको चितवनका लागि डाविन मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाएका थिए । उनले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ४० रनको महत्त्वपूर्ण साझेदारी गरे । सलाउद्दिनले १६ बलमा १८ तथा कमलसिंह ऐरीले ८ बलमा १० रन जोडे ।
चितवनका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कमिल मिशारा ४, देव खनाल ६, रवि बोपारा १, कुशल मल्ल १, विवेक यादव ३ र उसामा मिर २ रनमा आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अवसर सदुपयोग गरेको सुदूरपश्चिमले अब शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा हुनेछ ।