काठमाडौं । नेकपा एमालको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र सङ्कल्पलाई सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको छ ।
राष्ट्रिय भेला लगतै काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामहरुलाई केन्द्रीय कमिटीका सदस्यहरू मार्फत प्रभावकारी तथा सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठकले मङ्सिरको २६ गते आयोजना हुने वडा अधिवेशन र पुसको ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढङ्गले र सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया पूरा गरेर सम्पन्न गर्न निर्देशन दिइएको बस्नेतले बताए ।
वडा तथा पालिका तहको अधिवेशनमा पनि सर्वसम्मत नहुने भए लोकतान्त्रिक प्रक्रियामा जानुपर्ने अवस्था आए जानुपर्छ भन्ने मान्यतामा रहेको उनले बताए ।
साथै उनले जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्न सक्ने भएकाले सोहीअनुसार मानसिक रूपमा सम्पूर्ण पङ्क्तिलाई तयार राख्न निर्देशन दिइएको जनाए ।
त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे आन्दोलनको तयारी गर्ने सहितको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको थियो ।