जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले संघीयताको वास्तविक कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन गैरदलीय गर्नुपर्ने बताएका छन् । रास्वपा, जसपा नेपाल र उज्यालो नेपाललगायतका पार्टीले स्थानीय तहमा गैरदलीय निर्वाचनको पक्षमा वकालत गर्दै आएको भन्दै बस्नेतले गैरदलीय निर्वाचनले स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्ने स्वायत्त सरकारका रुपमा विकास गर्न सहयोग पुर्याउने बताएका हुन् ।
स्थानीय स्रोतसाधनको उचित परिचालन, स्थानीय तहमा पार्टीगत प्रतिस्पर्धा, गुटबन्दी र राजनीतिक खिचातानीको अन्त्यका लागि पनि स्थानीय तहको निर्वाचन गैरदलीय गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
दलको घोषणापत्र र केन्द्रीय स्वार्थभन्दा स्थानीय समस्या, आवश्यक्ता र जनताको मागलाई प्राथमिकतामा राख्न गैरदलीय निर्वाचन आवश्यक रहेको भन्दै यसका पक्षमा उभिन उनले सार्वजनिक आह्वान गरेका छन् ।
स्थानीय तहको निर्वाचन गैरदलीय भए स्वतन्त्र नागरिकको सहभागितासमेत बढ्ने उनको तर्क छ । राजनीतिक दलमा आबद्ध नभएका नागरिक पनि स्थानीय नेतृत्व चयन र सार्वजनिक बहसमा सक्रिय हुने र राजनीतिक भन्दा विकासमुखी नेतृत्व चयनमा टेवा पुग्ने बस्नेतको दाबी छ ।