काठमाडौं । टर्कीएमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी भएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आइतबार स्वदेश फर्किएका छन्। सम्मेलनका क्रममा उनी करिब एक दर्जन कार्यक्रममा सहभागी भए।
अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रको तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे। सात वर्षअघि स्थापना भएको 'जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन'मा नेपाल १०५औँ (नयाँ) सदस्यका रूपमा सामेल भएको छ। सोही अवसरमा उनले 'उत्थानशीलताका लागि वित्त' (Fiscal Space for Resilience) बारे नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरे।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाइरहेकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने G-20 समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग भेटवार्ता भएको थियो। भेटमा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
COP31 मा नेपालले उठाएका विषयमा सहयोग जुटाउन पाँच प्रभावशाली जलवायु दूतसँग पनि अर्थमन्त्रीको छलफल भयो। ती दूतमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्ट रहेका छन्।
उनले हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गरेका छन्। साथै नेपालले समेत लाभ लिएको जेनेभास्थित विश्व मौसमविज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई विशेष रूपमा सम्बोधन गरेका छन्।
जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकोलस स्टर्नसँग पनि अर्थमन्त्रीले भेटघाट गरे। उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका छन्। साथै टाइम पत्रिकाले सन् २०२६ का लागि जलवायु क्षेत्रमा छनोट गरेका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका थिए।