डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट शुक्रबार राति सुरुङ खनेर आठ कैदी फरार भएका छन् । फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका ५ जना र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ३ जना छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार कारागारमा रहेका १७ कैदीमध्ये ८ जना ४.६३ मिटर लामो सुरुङ खनेर भागेका हुन् । घटनापछि प्रमुख जिल्ला अधिकारी र डीएसपीको टोलीले कारागार कक्षको निरीक्षण गरिरहेको छ । फरार कैदीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार आठै जनाको पहिचान सार्वजनिक गरेको छ।
जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका:
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय
सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना
जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा उर्फ हरि बहादुर बुढा
चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका:
जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश उर्फ कपिल परियार
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी