काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले आगामी शुक्रबारसम्म देशका विभिन्न भागमा मौसम बदलिने र हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको पूर्वानुमान सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आजदेखि नै आंशिक बदली सुरु भएको छ भने बुधबारदेखि वर्षा र हिमपातको सम्भावना बढ्नेछ। आज हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहने उनले बताए। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने छ।
दिनअनुसारको पूर्वानुमान
मंगलबार: कोशी, मधेस, बागमती र गण्डकीसहित कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका एकाध स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
बुधबार: कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
बिहीबार र शुक्रबार: विभिन्न प्रदेशका हिमाली तथा पहाडी भागमा वर्षा तथा हिमपात हुन सक्नेछ।
वर्षा र हिमपातले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले महाशाखाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमको अद्यावधिक जानकारी लिँदै आवश्यक तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ।