काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आकर्षक पुरस्कार राशिको घोषणा गरेको छ । लिग सुरु हुनुअघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् ।
क्यानको घोषणाअनुसार एनपीएल सिजन ३ को विजेता टोलीले १ करोड ५० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी, प्रतियोगितामा उपविजेता बन्ने टिमले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टिमले ३० लाख पुरस्कार पाउनेछन् ।
नेपाली क्रिकेटलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित आयोजना गरिएको यस तेस्रो संस्करणको पुरस्कार राशिले खेलाडी तथा फ्रेन्चाइज टिमको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ ।