भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाका रूपमा घोषणा गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित समारोहमा नगरपालिकालाई बालमैत्री घोषणा गरिएको हो।
घोषणासँगै सूर्यविनायक काठमाडौं उपत्यकामा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्ने दोस्रो स्थानीय तह बनेको छ। यसअघि भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई २०७८ फागुन २८ गते बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो।

समारोहमा मुख्यमन्त्री थापा मगर र बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कमलप्रसाद भट्टराईले घोषणाको प्रमाणपत्र नगरप्रमुख बासुदेव थापालाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री थापा मगरले भौतिक पूर्वाधार विकाससँगै मानवीय विकासलाई प्राथमिकता दिँदै बालमैत्री अभियान सफल बनाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले घोषणापछि पनि बालमैत्री स्थानीय शासनका सूचकको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
नगरप्रमुख बासुदेव थापाले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको उपलब्धिलाई दिगो बनाउने बताए। नगरपालिकाका सबै वडामा बालमैत्री शासनका सूचक कार्यान्वयन गर्दै बालबालिकाको अधिकार संरक्षण र समग्र विकासका लागि निरन्तर काम गर्ने उनको भनाइ थियो।

नगरपालिकाका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने अभियानले लक्ष्य प्राप्त गरेको हो। कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नम्बर २ का अध्यक्ष प्रदीप कार्कीलगायतले बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, कर्मचारी, बालबालिका, सरोकारवाला र नगरवासीको सहभागिता थियो। समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।