सिन्धुलीमा ७१औँ प्रहरी दिवसका अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै अमर प्रहरी परिवारलाई सम्मान गरिएको छ । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै शुक्रबार ७१औँ प्रहरी दिवस मनाइएको हो ।
‘विपद्मा सारथि, सङ्कटमा छाहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी कर्मचारी, पूर्वप्रहरी र अमर प्रहरीका परिवारजनको उपस्थिति थियो। उनीहरूले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति सम्मान प्रकट गरेका थिए । सो अवसरमा अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।