काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा नेपाल प्रहरीलाई सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेका छन् ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा कार्कीले उत्कृष्ट अनुसन्धानकर्ता, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, विपद् व्यवस्थापन, प्राविधिक प्रहरी, खेलकुद, प्रशिक्षण तथा कार्यालय व्यवस्थापनलगायत विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार, प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयले तयार पारेका चार अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरे । सार्वजनिक गरिएका प्रतिवेदनमा नेपाल प्रहरीप्रतिको सार्वजनिक धारणा, भीड नियन्त्रणमा गैरघातक हतियार तथा उपकरणको प्रयोग र सुधारका क्षेत्र, वित्तीय अपराध अनुसन्धानको अवस्था तथा सुधारका क्षेत्र र प्रहरी जवानहरूको कार्यसम्पादन, तालिमको प्रभावकारिता तथा ज्ञान र व्यवहारको मूल्याङ्कनसम्बन्धी विषय समेटिएका छन् ।
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा र अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीलाई कदरपत्र प्रदान गरिएको छ ।
उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायब उपरीक्षक सुवास भट्ट, जीवन निरौला र दानबहादुर थापासहित विभिन्न तहका १० प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ । उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा प्रहरी जवान प्रमिला कार्की, उत्कृष्ट सामुदायिक प्रहरीका रूपमा प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोका र उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी सम्मानित भए ।
त्यसैगरी, विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने विभिन्न तहका ११ प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, आन्तरिक प्रशिक्षकतर्फ प्रहरी निरीक्षक देवेन्द्र दास तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक राजकुमार चौधरी र प्रहरी हवल्दार ललिता खवास पुरस्कृत भए ।
उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कार विभिन्न तहका आठ जना प्रहरी कर्मचारीले प्राप्त गरे । उत्कृष्ट प्रहरी खेल प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे, उत्कृष्ट प्रहरी खेलाडीतर्फ प्रहरी जवान नागेश्वर अहिर र उत्कृष्ट प्रहरी विद्यालय शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेमा कार्यरत उद्धव कार्की पुरस्कृत भए । उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सन्जु महर्जन र प्रहरी जवान सुरेन्द्र अवस्थीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।
नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता ग्रहण गरेका प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेसहित १० जना अधिकृतलाई कदरपत्र प्रदान गरिएको थियो ।
प्रहरी दिवसका अवसरमा आयोजित टिकटक जनचेतनामूलक भिडियो प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने बुढानीलकण्ठ नगरपालिका–१४, चुनिखेलका रिषन श्रेष्ठ र तनहुँको व्यास नगरपालिका–२ का महम्मद गफ्फारलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । नेपाल प्रहरीसम्बन्धी उत्कृष्ट लेखरचनातर्फ यशु श्रेष्ठ र प्रहरी निरीक्षक मन्दिप चौहान पुरस्कृत भए ।
नेपाल प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने सिन्धुपाल्चोकको मेलम्ची–४ की लालकुमारी राउत, नुवाकोटको शिवपुरी गाउँपालिका–५ का चिरञ्जीवी कार्की, सल्यानको कुमाख गाउँपालिका–२ का पैले बुढा र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ की नैना देवी जोशीलाई पनि कदरपत्र प्रदान गरिएको थियो । अमर प्रहरी स्मारकका डिजाइनर ९३ वर्षीय ठाकुरप्रसाद मैनालीलगायत प्रहरीको भौतिक संरचना निर्माण तथा संस्थागत कार्यमा सहयोग गर्ने व्यक्ति र संस्थालाई समेत सम्मान गरिएको प्रहरीले जनाएको छ ।
समारोहमा प्रहरी परिवारका सन्ततिको शिक्षा तथा उज्ज्वल भविष्यका लागि स्थापना गरिने प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोषमा योगदानस्वरूप प्रहरी सहायक निरीक्षकको ११३औँ समूहका तर्फबाट प्रहरी निरीक्षक सुरेश हायुले प्रहरी महानिरीक्षक कार्कीलाई चेक हस्तान्तरण गरे ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्कीले प्रहरी ऐन, २०१२ जारी भएसँगै नेपाल प्रहरीले संस्थागत स्वरूप प्राप्त गरेको दिनको स्मरणमा प्रहरी दिवस मनाइँदै आएको बताए । उनले कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा अमर प्रहरीका परिवारलाई सम्मान गर्नु दिवसको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरे ।
पुरस्कृत प्रहरी कर्मचारीले प्रदर्शन गरेको व्यावसायिकता, जिम्मेवारीबोध र निष्ठाले नेपाल प्रहरीलाई जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुगेको उनको भनाइ थियो । उत्कृष्ट कार्य गर्ने कर्मचारीमाथि आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी सेवा प्रदान गर्ने दायित्व थपिएको उनले बताए ।
बदलिँदो राजनीतिक, सामाजिक तथा आर्थिक परिवेश र प्रविधिको तीव्र विकाससँगै सुरक्षा चुनौती तथा अपराधका स्वरूप पनि परिवर्तन भइरहेको उल्लेख गर्दै कार्कीले प्रहरी कर्मचारीलाई समयअनुकूल आफ्नो कार्यशैली, क्षमता र कार्यसम्पादनमा सुधार गर्न निर्देशन दिए । उनले नागरिककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिँदै व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी रूपमा काम गर्न तथा कानुन कार्यान्वयन र मानव अधिकारको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।
नेपाल प्रहरीको संरचना विकास, अपराध अनुसन्धान तथा अन्य संस्थागत काममा सहयोग गर्ने व्यक्ति र संस्थाप्रति आभार व्यक्त गर्दै उनले पुरस्कृत प्रहरी कर्मचारीको साहस, निष्ठा र कार्यकुशलताबाट अन्य कर्मचारीले समेत प्रेरणा लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका सहायक रथी, प्रहरी नायब महानिरीक्षक, अवकाशप्राप्त प्रहरी अधिकारी, वरिष्ठ प्रहरी अधिकृत तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति थियो ।