काठमाडौँ । सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका-४, बिञ्ज्यालस्थित खर्कचौर खेलमैदानमा ‘दशैँ विशेष सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा मञ्च उद्घाटन’ कार्यक्रम आयोजना हुने भएको छ । नवज्योति युवा क्लबको आयोजनामा आगामी २०८३ कात्तिक २ गते उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा चर्चित गायिका रचना रिमालको विशेष प्रस्तुति रहनेछ । साथै सेलो गायिका पुजा तामाङ, लोक दोहोरी गायिका लक्ष्मी पराजुली तिमल्सिना, लोक दोहोरी गायक कुमार चालिसे, र्याप गायक ‘Xyakxik Lama’ तथा डान्सरहरू कुशल कार्की र दिपेश श्रेष्ठको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मञ्च उद्घाटनसँगै दशैँको शुभकामना आदानप्रदान गरिनेछ । स्थानीय कला, संस्कृति र युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजक नवज्योति युवा क्लबले जनाएको छ ।