गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत पैयू र बगर गाउँका ३५ घर बगाएको छ। चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत बाढीले व्यापक क्षति गरेको छ।
आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए। गाउँपालिका–३ का बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको उपाध्यक्ष गुरुङले जानकारी दिइन्।
बाढीको जोखिम बढेपछि गोरखा प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सिर्दिबास र धार्चे गाउँपालिकाका साथै खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न भनिएको छ।