काठमाडौं । भारतीय चलचित्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको आज (बिहीबार) बिहान गोवास्थित निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाटेकरलाई गोवास्थित आफ्नै घरमा अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उनलाई गम्भीर हृदयाघात भएको थियो । चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो । घटनाबारे मेडिको–लिगल केस दर्ता गरिएको छ भने पोस्टमार्टम गरिने जनाइएको छ ।
विश्वनाथ पाटेकरको वास्तविक नाम रहेका नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका प्रभावशाली कलाकारका रूपमा परिचित थिए । सन् १९७८ मा ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका उनले ‘अंकुश’, ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘प्रहार’, ‘तिरंगा’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘राजनीति’ लगायतका चर्चित चलचित्रमा अभिनय गरेका थिए ।
‘वेलकम’ र ‘वेलकम ब्याक’मा उदय शेट्टीको भूमिकाले उनलाई नयाँ पुस्तामाझ समेत निकै लोकप्रिय बनाएको थियो । गम्भीर तथा सामाजिक विषयका चलचित्रदेखि हास्य भूमिकासम्म प्रभावशाली अभिनय गर्न सक्ने कलाकारका रूपमा उनको छुट्टै पहिचान थियो ।
पाटेकरले अभिनयसँगै निर्देशनमा समेत काम गरेका थिए । उनको योगदानका लागि भारत सरकारले सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरेको थियो । उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेका थिए ।
नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा एक विशिष्ट अभिनय प्रतिभाको अन्त्य भएको छ । उनको निधनको खबरले बलिउड तथा मराठी चलचित्र क्षेत्र र उनका प्रशंसकहरूमा शोक छाएको छ ।