काठमाडौं । नेकपा (एमाले) संसदीय दलका पूर्व मुख्य सचेतक महेश बर्तौलाले सांसद पद राज्यका संस्थालाई तर्साउने, धम्क्याउने वा राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने लाइसेन्स नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बर्तौलाले प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए तत्काल कानूनबमोजिम कारबाही हुनुपर्ने बताएका हुन् ।
तर सत्तापक्षका एक सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने तथा धम्क्याउने गतिविधि गरिरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।
उनले यस्तो व्यवहारलाई सत्तारुढ सांसदको ‘दादागिरी’ र ‘सत्ताको रवाफको पराकाष्ठा’ भन्दै सांसद पदको मर्यादा र गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।
‘सांसद पद जनताको प्रतिनिधित्व गर्ने गरिमामय संवैधानिक जिम्मेवारी हो। यो पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने, राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने अथवा दोषीको फैसला सुनाउँदै हिँड्ने न्यायाधीशको लाइसेन्स होइन,’ बर्तौलाले भनेका छन् ।
लोकतन्त्रमा राज्यका संस्था र जिम्मेवार अधिकारीमाथि प्रश्न उठाउन तथा आलोचना गर्न पाइने भए पनि आलोचनाको नाममा राज्यका संस्थालाई कमजोर बनाउने गरी निरन्तर अराजकता, धम्की र चरित्रहत्या गर्ने छुट कसैलाई पनि नभएको उनको भनाइ छ । बर्तौलाले यस विषयमा सरकार र सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।