काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य तथा पार्टीका पूर्व केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन नेतृत्वदायी भूमिकामा आउन विभिन्न तहबाट सुझाव आएकाले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् ।
‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ,’ भट्टराईले भने, ‘मैले त्यसलाई सम्मान गर्दै उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’
इमानदार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको नेतृत्वमा रहँदा भ्रष्टाचारविरुद्धका अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा परिणाम आएको दाबी गरिएको छ ।
भट्टराईले पछिल्लो समय राजनीतिमा बढ्दै गएको लोकप्रियतावादी लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी तथा देशका लागि घातक रहेको बताएका छन् । कांग्रेसलाई आम नागरिकको पार्टीका रूपमा पुनःपरिभाषित गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक शक्ति त्यसै दिशामा केन्द्रित गर्ने बताएका छन् ।