काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका नेपाली सिक्का डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि प्रि-क्वालिफाइड सुरक्षा मुद्रा टकमरी कम्पनीहरूसँग बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार (असोज १८) प्रकाशित गरेको सूचनाअनुसार एक रुपैयाँ दरका ४० करोड थान चलनचल्तीका सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो ।
बोलपत्र प्रक्रियामा सहभागी हुन राष्ट्र बैंकबाट पूर्वयोग्यता प्राप्त कम्पनीहरू मात्रै योग्य हुनेछन् । बोलपत्रदाताले प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै खाममा राखी पेस गर्नुपर्नेछ । दुवै खामलाई एउटै सिलबन्दी खाममा राखेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौं तथा टक्सार महाशाखा, बबरमहलबाट खरिद गर्न सकिनेछ । बोलपत्र कागजात खरिदका लागि नेपाली रुपैयाँमा २० हजार, अमेरिकी डलरमा १३१ डलर वा युरोमा ११५ युरो शुल्क तोकिएको छ ।
बोलपत्र कागजात आगामी कात्तिक १६ गतेसम्म कार्यालय समयमा खरिद गर्न सकिनेछ। बोलपत्रदाताका लागि पूर्वबोलपत्र बैठक कात्तिक २९ गते दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा आयोजना हुनेछ ।
बोलपत्र पेस गर्ने अन्तिम म्याद कात्तिक १७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा खोलिने राष्ट्र बैंकले जनाएको छ ।
बोलपत्रसँगै न्यूनतम ४८ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ वा अन्य परिवर्त्य मुद्रामा बोलपत्र जमानत पेस गर्नुपर्नेछ। बोलपत्र पेस गरेको मितिदेखि १२० दिनसम्म बोलपत्र मान्य हुनुपर्नेछ भने जमानतको अवधि त्यसपछि थप ३० दिन कायम हुनुपर्नेछ ।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेको व्यक्ति, संस्था वा कम्पनी तथा त्यस्ता कम्पनीका सञ्चालक वा लगानीकर्तासँग सम्बन्धित नयाँ फर्म वा संस्थालाई बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ।