सिन्धुपाल्चोक । जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य कार्यक्रमअन्तर्गत विभिन्न जनस्वास्थ्य सेवा सूचक र कार्यसम्पादनका आधारमा गरिएको मूल्यांकनमा सुनकोशी प्रथम, पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो र त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएका छन् । हेलम्बु गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम समापनका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट पालिकाको घोषणा गरिएको हो । स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन, सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा पालिकाहरूको मूल्यांकन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयकी तथ्यांक सहायक अस्मिता श्रेष्ठका अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम र सूचकमा पालिकाले हासिल गरेको उपलब्धिका आधारमा मूल्यांकन गरिएको हो ।
स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापनलगायतका पक्षलाई मूल्यांकनको आधार बनाइएको जनस्वास्थ्य अधिकृत निसान सापकोटाले बताए ।
उत्कृष्ट स्थान हासिल गर्ने पालिकालाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद शर्मा, समन्वय अधिकारी राजेन्द्र अर्याल, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारी, स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं तथा स्वास्थ्य निर्देशनालय बागमतीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेललगायतले सम्मान गरेका थिए ।

स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनमा पालिकाबीच सकारात्मक प्रतिस्पर्धा बढाउन तथा स्थानीय तहबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न मूल्यांकनले सहयोग पुग्ने अपेक्षा गरिएको छ