काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । गत सोमबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा भएको केन्द्रीय कमिटीको बैठकले भण्डारीलाई पार्टीको दोस्रो वरीयता रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बैठकले ७ जना स्थायी कमिटी सदस्य चयन गरेको छ । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरिएको हो । अधिकारी र घिमिरेलाई केन्द्रीय कमिटीमा मनोनयन गरी स्थायी कमिटी सदस्य बनाइएको हो ।
त्यसैगरी, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दंगाल र सुरेन्द्र उदासलाई केन्द्रीय सदस्य बनाइएको छ । विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोलालाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ ।
बैठकले स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद् गठन, विभागहरूको गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठनको कामलाई सचिवालय बैठकबाट निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ ।