काठमाडौँ । श्रम स्वीकृतिबिनै यात्रुलाई वैदेशिक रोजगारीका लागि कुवेत प्रस्थान गर्न अनुमति दिएको घटना बाहिर आएको छ । अध्यागमन विभागका अनुसार ती यात्रु विमानमार्फत उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रियामा गएको पाइएको हो । उडानको समयमा श्रम स्वीकृति प्रक्रिया पूरा नभएको पाइएको छ ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार २०८३ असोज ५ गते श्रम भिसामा कुवेत प्रस्थान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको डेस्कमा उपस्थित भएका एक यात्रुलाई श्रम स्वीकृतिबिना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरिएको छ ।
उनले भने, ‘अनुसन्धानका क्रममा विभागको नेपाली पोर्ट प्रणाली तथा सिसिटिभी फुटेजबाट निज यात्रु बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको र श्रम स्वीकृति नभएको अवस्थामा समेत अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको तथा तेस्रो व्यक्तिसँग सम्पर्क भएको देखिएको छ । तत्पश्चात् बिहान करिब ७ः१० बजे निजलाई प्रस्थान अनुमति दिइएको खुलेको छ ।’
उनका अनुसार सम्बन्धित यात्रु र जापानमा रहेका एकजनाबीच आर्थिक कारोबार भएको अनुसन्धानमा भेटिएको छ । उक्त कार्यमा विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतकोसमेत संलग्नता देखिएको छ । उनलाई जिम्मेवारीबाट हटाइएको छ ।
यो प्रकरणमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएकाले विस्तृत अनुसन्धान गरी आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।