राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले संविधानको रक्षा तथा जनताका मुद्दा बुझ्न छठ पर्वको अवसर पारेर ‘मेची-महाकाली पदयात्रा’ गर्ने घोषणा गरेका छन् । मेचीदेखि महाकालीसम्म पैदलयात्रा गर्नेबारे जानकारी दिन आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमाथि आन्तरिक र बाह्य शक्तिबाट प्रहार भइरहेको धारणा राखे । कुनै कारणवश अहिलेको संविधान गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने उनको दाबी छ । केन्द्रमा शासन गर्नेहरूले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको सिंहको भनाइ छ ।
जनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको प्रभावकारिता नदेखिएको उनले बताए । सिंहले देशमा कुनै न कुनै किसिमले जहिले पनि मधेसमै द्वन्द्व, हिंसा, धार्मिक दंगालगायतका घटना हुने गरेकोप्रति सरकारलाई प्रश्न गरे ।