जंगली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो।
उनका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा देखिएको छ। गएराति कुनैबेला हात्तीले हिँड्ने क्रममा सूँडले तारमा लागेर करेन्ट लागेको प्रारम्भिक अनुमान छ।
अन्दाजी ४५ वर्षीय जंगली हात्ती केही वर्षअघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो। थापामगरका अनुसार एकीन तथ्यांक नभए पनि पाँच÷छ जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ।
विसं २०६५/६६ देखि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउनेजाने गरेको यो हात्तीबाट ३३ वटा बच्चा जन्मिएको केन्द्रका मणिपुरण चौधरी बताउँछन् । पछिल्ला वर्षमा निकै शान्त यस हात्तीले अधिकांश केन्द्रका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको थियो ।