नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख ६१ हजार रुपैयाँ बराबरको विद्युत् भारत तथा बंगलादेशतर्फ निर्यात गरेको छ । प्राधिकरणको स्युचाटारस्थित प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) का अनुसार द्विपक्षीय सम्झौता र डे-अहेड/विद्युत् बजार गरी दुई माध्यमबाट ५६ करोड ५६ लाख ६ हजार युनिट विद्युत् बिक्री गरिएको हो ।
कूल निर्यातमध्ये द्विपक्षीय सम्झौता (बाइल्याटरल) अन्तर्गत भारतको हरियाणा र बिहार राज्यलाई ४२ करोड १६ लाख २१ हजार युनिट (३ अर्ब ६४ करोड २५ लाख रुपैयाँ) विद्युत् बिक्री गरिएको छ । त्यसैगरी विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत १४ करोड ३९ लाख ८५ हजार युनिट (१ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ) को विद्युत् कारोबार भएको छ ।
यसैबीच भोटेकोशी नदीमा आएको बाढीले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुर्याएपछि हाल बंगलादेशतर्फको विद्युत् प्रवाह रोकिएको छ । अन्य वैकल्पिक जलविद्युत् आयोजनाबाट बंगलादेशमा विद्युत् पठाउनका लागि भारतीय पक्षसँग स्वीकृति माग्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउने लक्ष्य प्राधिकरणको छ ।
.jpg)