नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताइन् ।
सांसद बरालले सरकारलाई बजारमा ग्यासको अभाव हुनुको कारणबारे जवाफ दिन माग गरिन् । उनले बजारमा ग्यास किन नपाइएको, महँगी किन बढेको र जनता किन समस्यामा परिरहेका छन् भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । उनले भनिन्, ‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो ? सरकारलाई ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले ।’
बरालले ग्यास अभावका कारण सर्वसाधारणले आफूहरूसँग ग्यास मिलाइदिन आग्रह गरिरहेको बताइन् । उनले बजारमा ग्यास अभावबारे एमालेले ग्यास लुकाएको भन्दै समाचार लेखिएको विषयमा पनि आपत्ति जनाइन् ।
उनले भनिन्,‘जनता दिनका दिन रोइरहेका छन् । ग्यास छैन दिदी, हामीलाई एउटा ग्यास मिलाइदिनुस् न भन्छन् । बजारमा एमालेले ग्यास लुकाएर हामी ग्यास बजारमा अलपत्र भयौँ, हामीले पाएनौँ भनेर लेख्ने मिडिया या लेखाउने सरकार सम्बन्धित यहाँका मान्यज्यू को हो ?’