बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला सुनाइएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार थुनामा रहेका ७ जना मध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
यही मुद्दामा प्रतिवादी बनाइएका १८ जनाले सफाइ पाएका छन् । अदालतले पुर्पक्षका लागि थुनामा रहेका धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्म कैदको फैसला सुनाएको हो।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको क्रममा बाजुराकै कैलाशमाडौँमा चेलनको हत्या भएको थियो ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेतासमेत रहेका चेतनलाई निर्वाचनको बेला यी प्रतिवादीहरूले घर घेराहालेर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चेतनको मृत्यु भएको थियो । घटना लगतै प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।