काठमाडौं । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो ।
दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।
ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे ।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।
जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।