काठमाडौं । गत भदौ १० गते रसु्वास्थित भोटोकोशी नदीमा आएको भीषण बाढीबाट मृत्यु भएका १ हजार ३५७ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव भेटिएको जनाएको छ ।
भेटिएका शवमध्ये विभिन्न स्थानबाट मानव अंगसमेत रहेका छन् । प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि करिब पाँच हजार ३२६ जना अझै बेपत्ता रहेको जनाइएको छ । बेपत्तामध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन् । ‘तीमध्ये विभिन्न दश अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ’, उनले भनिन् ।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको प्राधिकरणले जनाएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।
उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौंबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् ।
सरकारले रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।
प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ ।
बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ ।