काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको आज सोमबार १३औँ दिन । सिंगो देश अहिले राष्ट्रिय शोकमा छ भने बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । सरकारले बाढीमा ज्यान गुमाउनेहरूप्रति राज्यको तर्फबाट सम्मान व्यक्त गर्न राष्ट्रिय शोक घोषणा गरे पनि प्रभावित परिवारको पीडा भने औपचारिक शोकले मात्र समाप्त हुने अवस्था छैन । उनीहरूलाई आफन्तको शव पहिचानदेखि राहत, पुनर्स्थापना र भविष्यको सुरक्षासम्म राज्यको निरन्तर साथ आवश्यक छ ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट बगेको भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवासहित आसपासका जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको थियो । बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै ठुलो संख्यामा मानिस बेपत्ता बनाएको थियो । बाढीको बेगसँगै बगेका संरचना र मानिसको खोजी अझै चुनौतीपूर्ण छ । विपद्को १३ दिनसम्म पनि बाढी प्रभावित क्षेत्र अझै सामान्य अवस्थामा फर्किन सकेको छैन भने सडक तथा पुलमा पुगेको क्षतिका कारण आवतजावत प्रभावित छ । जलविद्युत् आयोजनाहरूमा भौतिकसँगै ठुलो मानवीय क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण आइतबार साँझसम्म १ हजार ३४२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जसमध्ये ९८ वटा शव मात्र परिवारले बुझेका छन् । त्यस्तै, करिब ५ हजार बेपत्ता छन् । बेपत्ता हुनेमा रसुवा जिल्ला प्रशासन कार्यलयको विवरणमा १ हजार ९६७ जना छन् भने नुवाकोट जिल्ला प्रशासनमा दर्ता भएका २ हजार ३४० जना छन् । सुरक्षाकर्मी तथा कर्मचारीहरू १०० र विदेशी नागरिक ५८९ जना बेपत्ता छन् । त्यस्तै, विभिन्न सुरक्षा निकायका २१ हजार ४६५ जनशक्ति खोज तथा उद्धारमा जारी छन् भने हालसम्म १३ हजार ३९१ जनाको उद्धार भइसकेको छ । उद्धार भएकामध्ये ३ हजार ९१२ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।