गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई फिर्ता बोलाएको छ। भदौ १० मा भोटेकोसीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका नदेखिएपछि परियारलाई फिर्ता बोलाएको हो।
रसुवाको नयाँ सीडीओको रूपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई पठाइएको गृह मन्त्रालयका एक कर्मचारीले बताए।
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दुई महिना पनि नपुग्दै परियार मन्त्रालय तानिएका छन्।
बाढीपछि जिल्लामा उत्पन्न संकट व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण र निकायहरूबीचको समन्वयमा जिल्ला प्रशासनको भूमिकामाथि रसुवा भन्सार प्रमुख राजेन्द्र ढुंगानाले सार्वजनिक रूपमै प्रश्न उठाएका थियो।