काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकासहित धादिङ र काभ्रेपलाञ्चोकमा देखिएको एलपी ग्यासको अभाव हटाउन वैकल्पिक व्यवस्था मिलाइएको छ । नेपाल आयल निगम लिमिटेडका अनुसार तराईका विभिन्न जिल्लास्थित उद्योगहरूबाट ग्यास सिलिन्डर रिफिल गरी उपत्यका ल्याउने र बिक्री वितरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
कृष्णभिर खण्डको बाटो पूर्ण रूपमा नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगहरूबाटै रिफिल गराई काठमाडौँमा एलपी ग्यास ल्याउने प्रक्रिया जारी रहने आयल निगमले जनाएको छ ।
तराईका उद्योगहरूमार्फत भदौ १८, १९ र २० गते उपत्यकामा भित्र्याई बिक्री वितरण गरिएको ग्यास सिलिन्डरको परिमाण यस प्रकार छ:
भदौ १८ गते : २४,४९४ सिलिन्डर
भदौ १९ गते : ३४,१३४ सिलिन्डर
भदौ २० गते : २९,२४९ सिलिन्डर
जम्मा आपूर्ति : ८७,८७७ सिलिन्डर
बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा रहेका श्री ग्यास, सूर्य ग्यास, ओम ग्यास, श्रीराम ग्यास, सगरमाथा, साईबाबा, श्रीकृष्ण, कामाक्ष, उग्रचण्डी, एभरेस्ट, सुगम, नेपाल ग्यास, हिमालयन पेट्रोकेमिकल्स (एच.पी.), मेट्रो काठमाडौँ (एस.टी.सी.), सिद्धार्थ, गौरीशङ्कर, सिताश्री र नमस्ते ग्यास उद्योगहरूबाट रिफिल गरी आपूर्ति मिलाइएको छ । निगमले उपभोक्तालाई ग्यासको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै आपूर्ति व्यवस्थालाई थप चुस्त बनाइएको स्पष्ट पारेको छ ।