दुबई । टी-२० एसिया कप क्रिकेटमा भारतीय महिला टोलीले पाकिस्तानलाई हरााएको छ । गएराति यूएईको दुबईमा भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले अहिलेसम्मकै कम स्कोर खडा गर्यो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा पाकिस्तान १८.१ ओभर क्रिजमा टिकेर ५५ रनमा अलआउट भयो। यो टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानको सबैभन्दा कम स्कोर हो।
आठ पाकिस्तानी ब्याटर दोहोरो अंकमा पुग्न असफल भए । शवाल जुल्फिकारले सर्वाधिक १४ रन बनाइन् । भारतीय टोलीका लागि श्री चरणी र प्रेमा रावतले ३-३ विकेट लिए । दीप्ती शर्माले २ विकेट लिइन् ।
जवाफमा भारतले ८.४ ओभरमा ३ विकेट गुमाएर ५६ रनको लक्ष्य पछ्यायो । कप्तान हरमनप्रीत कौरले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाइन्। उनले १८ बलमा अविजित रहँदै १८ रन बनाइन् । शेफाली वर्माले ६ बलमा १२ तथा दीप्ती शर्माले १४ बलमा अविजित रहँदै १२ रन बनाइन् । फातिमा सानाले ३ विकेट लिइन् ।
भारत-पाकिस्तानका कप्तानहरूले फेरि पनि हात मिलाएनन् । गत जुन १४ मा खेलिएको महिला टी-२० विश्वकप खेलमा भारतीय कप्तानले पनि पाकिस्तानी कप्तानसँग हात मिलाएका थिएनन्।
अप्रिल २२, २०२५ मा पहलगाम आतंकवादी हमला भएदेखि भारतीय र पाकिस्तानी खेलाडीहरू बीच हात नमिलाउने नीति अवलोकन गरिएको छ।
भारतीय खेलाडीहरू र पाकिस्तानी खेलाडीहरूबीच हात नमिलाउने नीति गत वर्ष पुरुष एसिया कपबाट शुरू भएको थियो । सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीले सलमान अली आगासँग हात मिलाउन अस्वीकार गरेका थिए ।
भारतीय टोलीले यस प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। पाकिस्तानले यसअघि हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो।