काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइरहेकाहरूको खोजी जारी रह्यो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ।
शव चिन्न नसक्ने अवस्थामा रहेका छन् । शवको पहिचान खुल्न बाँकी छ। शुक्रबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य गरिएको थियो। उद्धारका लागि कोरियाली, शेर्पा, सर्च, ड्रोन टिम सक्रिय भएको छ भने विशेष क्यामेरा र तालिम प्राप्त कुकुर पनि सो क्षेत्रमा लगिएको छ ।
उद्धारका लागि कम्पनीले १५ वटा विभिन्न उद्धार गर्ने मेशिन तथा उपकरण पुर्याइएको जनाएको छ । शनिबार आयोजना स्थलमा उद्धारलाई तीव्रता दिने कम्पनीले जनाएको छ ।
सुरुङमा शुक्रबार वाटर पम्पको कार्य जारी राखिएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कूल एक हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार गरिएको छ ।
शुक्रबार नै प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले गृह सचिव केदारनाथ शर्मासँग भेट गरी उद्धारको अवस्थाको जानकारी गराएको छ ।
साथै, उद्धारका लागि आवश्यक थप उपकरण र मेशिनहरू लानका लागि सहजीकरण गर्न आग्रह गरेको छ। गृह सचिव शर्माले उपकरणहरू तुरुन्तै पठाउने जनाएका छन् ।