काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर गायिका निर्मला घिमिरे (निरु) को स्वरमा सजिएको नयाँ तीज गीत ‘माईती घरको आँगन’ सार्वजनिक भएको छ । बोधि मिडिया (Bodhi HD) को आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीतको आधिकारिक भिडियो सार्वजनिक गरिएको हो ।
सुमन पण्डितको शब्द तथा सङ्गीत रहेको यस गीतमा गायिका निर्मला घिमिरेलाई कोरस गायनमा प्रेमा राना र यमुना विश्वकर्माले साथ दिएका छन् । रमेश सेन्चुरीको सङ्गीत संयोजन तथा आशिष अधिकारीको सङ्गीत निर्माण रहेको यस गीतलाई मरुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त भिडियोको निर्देशन वरिष्ठ नृत्य निर्देशक कमल राईले गरेका हुन् । भिडियोमा मोडल तथा कलाकारहरू झरना रिसाल र दिप्सा कार्कीको उत्कृष्ट नृत्य तथा अभिनय देख्न सकिन्छ ।
शिव ढकालले खिचेको यस भिडियोलाई रामप्रसाद चौधरीले सम्पादन गरेका हुन् भने रेनिश फागोको कलरिङ रहेको छ । पोस्ट प्रोडक्सन काइट्स इन्टरटेनमेन्टले गरेको छ ।
रंग पौडेलको निर्माण तथा गोपाल कटुवाल कार्यकारी निर्माता रहेको यस गीतका सह-निर्माता सिजन रोकाया हुन् । मौलिक संस्कृतिको संरक्षण र तीजको वास्तविक मर्मलाई गीत-भिडियोमार्फत उजागर गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।