पेरिस । फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, शिक्षा क्षेत्रमा बजेट कटौती र सरकारी नीतिप्रति असन्तुष्टि बढ्दै जाँदा देशव्यापी विरोध प्रदर्शन चर्किएको छ। राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, आगजनी तथा पसलमा लुटपाट भएको विवरण सार्वजनिक भएका छन्। विद्यालयको अवस्था सुधार गर्नुपर्ने मागसहित सुरु भएको विद्यार्थी आन्दोलन विस्तार हुँदै गएपछि त्यसमा अन्य असन्तुष्ट समूहसमेत सहभागी भएको प्रस्तुत विवरणमा उल्लेख छ।
पेरिस, मार्सेई, निस, नान्त, बोर्डो, लिमोज, लिल, टुलुज र स्ट्रासबर्गलगायत सहरमा प्रदर्शन चर्किएको बताइएको छ। प्रदर्शनका क्रममा प्रहरीका सवारीसाधनका साइरन, धुवाँका मुस्लो र प्रदर्शनकारीका नाराले सहरका सडक तनावपूर्ण बनेका छन्। कतिपय स्थानमा पसलमा तोडफोड तथा लुटपाट र सवारीसाधनमा आगजनी भएको विवरण पनि सार्वजनिक भएका छन्।
फ्रान्सलाई विश्वकै समृद्ध अर्थतन्त्र भएको मुलुकका रूपमा लिइन्छ। तर, पछिल्ला वर्षमा बढ्दो महँगी, घट्दो क्रयशक्ति, सरकारी ऋणको भार र सामाजिक असन्तुष्टिले त्यहाँको आर्थिक तथा राजनीतिक व्यवस्थामाथि प्रश्न उठाएको छ। एक समय विशाल औपनिवेशिक साम्राज्यको बलमा आर्थिक शक्ति विस्तार गरेको फ्रान्स अहिले आफ्नै आर्थिक चुनौतीसँग जुधिरहेको छ।
फ्रान्समा पछिल्लो असन्तुष्टिको प्रमुख कारण सर्वसाधारणको घट्दो क्रयशक्ति हो। खाद्यान्न, आवास, बिजुली, इन्धन तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै जाँदा आम नागरिकको खर्च व्यवस्थापन कठिन बनेको छ। काम गरेर आम्दानी गर्ने मानिसले समेत महिनाको अन्त्यसम्म बचत गर्न नसक्ने अवस्था आएको गुनासो बढेको छ। विशेषगरी घरभाडा, ऊर्जा र यातायातमा हुने खर्चले मध्यम तथा न्यून आय भएका परिवारलाई बढी प्रभावित गरेको छ।
फ्रान्सका ठूला सहरमा सार्वजनिक यातायातको सुविधा उपलब्ध भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि निजी सवारीसाधन अनिवार्यजस्तै छ। काममा जान, बालबालिकालाई विद्यालय पुर्याउन र दैनिक आवश्यकता पूरा गर्न सवारीसाधन प्रयोग गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उनीहरूको खर्च थप बढाउँछ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुका साथै इन्धनमा लाग्ने करको भारसमेत उपभोक्तामाथि पर्दा सर्वसाधारणको असन्तुष्टि चुलिएको छ। यही प्रकारको असन्तुष्टिले सन् २०१८ मा फ्रान्समा ‘येलो भेस्ट’ अर्थात् पहेँलो ज्याकेट आन्दोलन जन्माएको थियो। अहिलेको आर्थिक दबाबले फेरि त्यस्तै जनआक्रोश बढाउने जोखिम देखिएको छ।
फ्रान्समा विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षा बजेट कटौतीको विरोधमा विद्यार्थी तथा शिक्षकले प्रदर्शन सुरु गरेका थिए। सुरुमा राजधानी पेरिसमा सीमित रहेको आन्दोलन विस्तार हुँदै अन्य सहरमा पनि फैलिएको विवरणमा उल्लेख छ।
शिक्षा क्षेत्रमा पर्याप्त लगानी हुनुपर्ने, विद्यालयका भवन तथा पूर्वाधार सुधार गर्नुपर्ने र सार्वजनिक सेवाको गुणस्तर कायम राख्नुपर्ने माग प्रदर्शनको केन्द्रमा छन्।
तर, आन्दोलनको दायरा विद्यालय र शिक्षासम्बन्धी मुद्दामा मात्र सीमित छैन। बढ्दो महँगी, रोजगारीको अनिश्चितता, सरकारप्रतिको अविश्वास र भविष्यप्रतिको चिन्ताले पनि प्रदर्शनलाई व्यापक बनाएको छ। विद्यार्थी, शिक्षक, श्रमिक, ट्रेड युनियन र किसानलगायत विभिन्न समूहका असन्तुष्टि एकै ठाउँमा जोडिन थालेपछि सरकारमाथि दबाब बढेको छ।