काठमाडौँ । उद्योगीले खाना पकाउने ग्यासको भाउ बढाएका छन् । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको बहानामा उद्योगीले ग्यासको भाउ प्रतिसिलिन्टर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका हुन् । मूल्य बढेसँगै अब प्रतिसिलिन्डर ग्यासको भाउ २ हजार ६० रुपैयाँबाट बढेर २१ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ । यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि नै लागू भइसकेकाे छ ।
यही भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाउँदा व्यसायीलाई भने आफूखुसी मूल्य वृद्धि गर्न बाटो खोलिदिएको थियो ।
निगमको डिपो, कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि साविकको मूल्यमै पेट्रोलियम पदार्थ बेच्नुपर्ने र त्यो भन्दा लामो रुटमा ढुवानी गर्दा थप मूल्य लिन पाउने गरी निगमले बाटो खोलिदिँदा व्यवसायीले आफूखुसी मूल्य बढाएका हुन् ।
निगमले गत मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि दुई हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख छ । यसको अर्थ, ग्यास उद्योगदेखि ५० किलोमिटरभन्दा टाढाका उपभोक्तालाई भने ढुवानी लागतअनुसार मूल्य तोक्न निगमले नै स्वीकृति दिएको थियो ।