काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक बिहीबार तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् ।
केरुङ क्षेत्रमा सुरक्षित रहेका उनीहरूलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । नेपाल फर्किनेमा रसुवाका ११३ र रामेछापका १ जना छन् । रसुवागढी नाका तथा पासाङ ल्हामु राजमार्ग बाढीले क्षतिग्रस्त भएपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू उतै अलपत्र परेका थिए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार उनीहरूलाई नेपाल फर्काउन चीनले तातोपानी नाकासम्म सहजीकरण गरेको थियो ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले केरुङमा करिब १ हजार ६०० नेपाली रहेको अनुमान गरेको छ भने नेपाल फर्किन ८०० भन्दा बढीले नाम दर्ता गराएका छन् । उनीहरू सामान लिन, किनमेल तथा लोड–अनलोड र होटल–रेस्टुराँमा काम गर्न केरुङ पुगेका थिए । चिनियाँ सीमा क्षेत्रमा अझै करिब १०० नेपाली बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीका कारण ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता भएको जनाएको छ । हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको छ ।